Central Department of Psychology

Kritipur

स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना

स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना

2026-07-17

त्रिवि मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबीच सहकार्य गर्दै मनोपरामर्श इकाइ (Counseling Unit)  स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रवार एक कार्यक्रमका बीच विभागको तर्फबाट विभागीय प्रमुख सन्जेश श्रेष्ठ र स्ववियुको तर्फबाट सभापति दीपकराज जोशीले समझदारीपत्रमा हस्ताक्षर गरी इकाइ स्थापनाको घोषणा गर्नुभएको हो । इकाइमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरुले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरुलाई समेत मनोपरामर्श सेवा प्रदान गर्ने सहमति भएको छ ।

वर्तमान सामाजिक परिवेशमा विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्याहरूलाई मध्यनजर गर्दै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समन्वयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले इकाइ स्थापना गर्न पहल गरिएको सभापति जोशीले बताउनु भयो । समझदारीपत्रमा त्रिवि मनोविज्ञान केन्द्रीय विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारिक प्रयोग गर्न विद्यार्थीहरुबीच परामर्श कार्यक्रम सञ्चालनका लागि स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय परिसरमा रहेको एउटा कोठा प्रयोग गर्ने, स्वतन्त्र विद्यार्थी युनियनले सम्पूर्ण विभागहरूमा परामर्श कार्यक्रम सञ्चालन प्रारम्भ भएको जानकारी गराउन समन्वयकारी भुमिका निर्वाह गर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय रहने गरी निर्माण भएको विद्यार्थीमैत्री भवनमा स्ववियू स्थानान्तरण भएपछि नयाँ भवनमा समेत परामर्श कार्यक्रमलाई निरन्तरता दिन स्ववियूले विभागलाई कोठाहरू उपलब्ध गराएर सहकार्य जारी राख्ने लगायत शर्तहरु राखिएको छ ।

यस सेवामार्फत विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान, समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको सभापति जोशीले बताउनु भयो । इकाइ स्थापनाले विद्यार्थीहरुले कक्षाकोठामा अध्ययन गरेका सैद्दान्तिक ज्ञानलाई भोलिका दिनमा पेशागत रुपमा कार्यक्षेत्रमा जाँदा सामान्य इन्टेक फर्म, ओपिडी फारम तथा रेफरल प्रक्रियाबारे प्राथमिक रुपमा जानकारी हासिल गर्न मद्दत मिल्ने फ्याकल्टी तथा सिनियर साइकोलोजिस्टका रुपमा अभ्यासरत पदमराज जोशीले बताउनु भयो । समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पूर्व विभागीय प्रमुख डा खेमराज भट्ट, फ्याकल्टी तथा सिनियर साइकोलोजिस्ट जोशी, प्रशासन प्रमुख नोदनाथ त्रिताल, स्ववियू उपसभापति सनम ओली तथा तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।