Kritipur
काठमाडौँ, २७ भदौ । गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (CDJMC) को सभाहलमा 'विश्व आत्महत्या रोकथाम दिवस' को अवसरमा आयोजित बहु-दिवसीय सचेतना अभियान अन्तर्गत विशेष प्यानल छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
केन्द्रीय मनोविज्ञान विभाग अन्तर्गत रहेको ‘सेन्ट्रल एसोसिएसन अफ साइकोलोजी स्टुडेन्ट्स’ (CAPS) को आयोजनामा सञ्चालित सो कार्यक्रम सन् २०२६ को विश्वव्यापी नारा "आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ" (Changing the narrative on Suicide) मा आधारित रहेको थियो।
कार्यक्रमको उद्देश्य:
यस बहु-दिवसीय अभियानको मुख्य उद्देश्य समाजमा आत्महत्या र मानसिक स्वास्थ्यबारे रहेका नकारात्मक दृष्टिकोण (Stigma) हटाई खुला संवादको सुरुवात गर्नु, युवा तथा विद्यार्थीहरूमाझ सचेतना अभिवृद्धि गर्नु, आत्महत्या रोकथाम सम्बन्धी तथ्याङ्क र यथार्थ सार्वजनिक गर्दै नीतिगत तथा सामुदायिक स्तरमा रोकथामका उपायहरूलाई मजबुत बनाउनु रहेको CAPS ले जनाएको छ।
अभियानका प्रमुख गतिविधिहरू:
१. पहिलो दिन (भदौ २५ गते): साइड वाक तथा 'स्टल' सञ्चालन
अभियानको पहिलो दिन भदौ २५ गते त्रिवि परिसरका तीन प्रमुख स्थानहरू— त्रिवि केन्द्रीय पुस्तकालय, ब्वाइज होस्टेल अगाडि, र शिक्षा विभाग अगाडि साइड वाक (Side Walk) गर्नुका साथै सचेतनामूलक स्टलहरू (Stalls) राखिएको थियो। उक्त स्टलमार्फत विद्यार्थी तथा सर्वसाधारणलाई मानसिक स्वास्थ्य सम्बन्धी जानकारी, परामर्श स्थल तथा रोकथामका उपायहरूबारे सचेत गराइएको थियो।
२. दोस्रो चरण: कीर्तिपुरका ५ विद्यालयहरूमा सचेतना
कीर्तिपुर क्षेत्रका ५ वटा माध्यमिक विद्यालयहरूमा 'द साइन्स अफ ह्यापिनेस' (The Science of Happiness) सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिएको थियो। माध्यमिक तहका विद्यार्थीहरूलाई सकारात्मक मनोविज्ञान, तनाव व्यवस्थापन र खुसी रहने वैज्ञानिक उपायहरूबारे प्रशिक्षित गराउँदै मानसिक स्वास्थ्य प्रवर्द्धन गरिएको थियो।
३. तेस्रो दिन (भदौ २७ गते): प्यानल छलफल र नेपाल प्रहरीको तथ्याङ्क प्रस्तुत
अन्तिम दिन आयोजित प्यानल छलफलमा नेपाल प्रहरी अस्पतालका मनोरोग विभाग प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (SSP) डा. आशिष दत्तले नेपाल प्रहरीको अध्ययन तथा अनुसन्धानमा आधारित आत्महत्या सम्बन्धी चिन्ताजनक तथ्याङ्क प्रस्तुत गर्नुभयो:
* शिक्षाको स्तर: आत्महत्या गर्नेहरूमा ६३% निरक्षर, १३% माध्यमिक तहका विद्यार्थी तथा ९% स्नातक तह उत्तीर्ण व्यक्ति रहेका छन्।
* समुदाय: जनसङ्ख्याको अनुपातका आधारमा दलित समुदाय तथा आदिवासी/जनजाति समुदायमा आत्महत्याको दर उच्च पाइएको छ भने त्यसपछि ब्राह्मण/क्षेत्री समुदाय रहेका छन्।
* पेशागत अवस्था: कृषि क्षेत्रमा संलग्न ४६%, मजदूर १७%, विद्यार्थी १५% र गृहिणी ११.६% रहेका छन्।
* मानसिक अवस्था तथा समय: आत्महत्याका घटनाहरूमा ६५% मानसिक रोगका कारण हुने गरेको पाइएको छ। महिनाका आधारमा बैशाखमा सबैभन्दा बढी र पुसमा सबैभन्दा कम घटना हुने गरेका छन्।
* वार र समय: हप्ताको शुक्रबार र सोमबार तथा बिहान ४:०० बजेदेखि ८:०० बजेसम्मको समयमा बढी घटना घट्ने गरेको तथ्याङ्कले देखाएको छ।
वक्ताहरूको भनाइ:
प्यानल छलफलमा SSP डा. आशिष दत्त, स्वास्थ्य सेवा विभागका निर्देशक डा. रवि शाक्य, एमपिल क्लिनिकल साइकोलोजिस्ट रिचा खड्का, वरिष्ठ मनोविद् विनोद पौडेल र कोसिस (KOSHISH) का कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाले मानसिक स्वास्थ्यका समस्याहरूलाई नलुकाई खुलेर छलफल गर्न र समयमै मनोसामाजिक सहायता उपलब्ध गराउन आग्रह गर्नुभयो।
CAPS का अध्यक्ष कुशल खनालले आत्महत्या रोकथाम र मानसिक सचेतना फैलाउन विद्यार्थीहरूले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै CAPS का सचिव गौतम धितालले प्रस्तुत तथ्याङ्कलाई गम्भीरतापूर्वक लिँदै सम्पूर्ण सरोकारवालाहरूलाई रोकथामका कार्यमा एकजुट हुन आग्रह गर्नुभयो।
कार्यक्रमको सहजीकरण अनुष्का कार्की र विभूषा काफ्लेले गर्नुभएको थियो भने सञ्चालन अमिरा ज्ञवाली र सोनिका पराजुलीले गर्नुभएको थियो। CAPS का सदस्यद्वय मलिका गिरी तथा बन्दना जोशीको संयोजन र व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रममा ठूलो संख्यामा प्राध्यापक, विद्यार्थी तथा मनोचिकित्सा क्षेत्रका अध्येताहरूको उपस्थिति रहेको थियो।
