Central Department of Psychology

Kritipur

अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम 

अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम 

2026-09-10

हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइने अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा ‘आत्महत्या रोकथामबारे सम्बाद शुरू गरौंं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । त्रिवि मनोविज्ञान केन्द्रीय विभागका विद्यार्थीहरूको अगुवाईमा मनोविज्ञान विद्यार्थी एशोसिएशनको आयोजना र नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाहरूको सहकार्यमा त्रिवि परिसरमा सचेतनामुलक क्याम्प खडा गरी विद्यार्थीहरूले यो दिवस मनाएका हुन् । उनीहरूले त्रिवि परिसरको तीनकुने होस्टेल अगाडि, त्रिवि केन्द्रीय पुस्तकालयको गेटमा र शिक्षाशास्त्र केन्द्रीय विभागको मुल गेट अगाडि तीन वटा स्टल राखेर जागरण अभियान सञ्चालन गरेका थिए । 


उनीहरूले सर्वसाधारणहरूमा आत्महत्यासम्बन्धी धारणा र दृष्टिकोण बदल्न भोलिका लागि एउटा कारणको खोजी गरेका थिए भने आजको दिन तपाईं हामीलाई कस्तो लागिरहेको छ? भनेर दृष्टिकोणहरू संकलन गर्ने र अनुभव आदानप्रदान गर्ने क्रियाकलापहरू सञ्चालन गरेका थिए । उनीहरूले प्रदर्शन स्थलमा पोस्टरहरू टाँस गरेका थिए भने विभिन्न चेतनामुलक ब्रुसरहरू वितरण गरेर सूचना प्रवाहको कार्य गरेका थिए । तीन वटै प्रदर्शन स्थलहरूको स्थलगत अवलोकन भ्रमणपश्चात विद्यार्थीहरूको सक्रियता र अन्य निकायहरूको सहयोग सहकार्यमा कार्यक्रम प्रभावकारी भएको आफुले पाएको विभागीय प्रमुख सन्जेश श्रेष्ठले बताउनु भयो । विभागको तर्फबाट सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुहुँदै उहाँले अहिलेको समाजमा मनोसामाजिक परामर्शको आवश्यकता वृद्धि हुँदै गएकोले मनोविज्ञानका विद्यार्थीहरूले यसरी नै समाजलाई सचेतना फैलाउन सक्नुपर्ने बताउनु भयो । 
दिवसको अवसरमा आज, भोलि र पर्सी समेत गरेर तीन दिनसम्म क्याप्स्को निर्णयमा सबै सेमेस्टरका विद्यार्थीहरूको सक्रियतामा  विभिन्न कार्यक्रम आयोजना गरिने क्याप्स् संयोजक कुशल खनालले बताए । भोलि ¥याली आयोजना हुने र पर्सी शनिवार आमसञ्चार तथा पत्रकारीता केन्द्रीय विभागको सभाहलमा प्यानल छलफल कार्यक्रम आयोजना गरिएको क्याप्स्ले जनाएको छ ।