Kritipur
मनोविज्ञान केन्द्रीय विभागको संयोजकत्वमा प्रयोगात्मक विषयको कक्षाभार र खर्चसम्बन्धी एकरूपता ल्याउनेबारे एक दिवसीय छलफल कार्यक्रम सम्पन्न भएको छ । विगत वर्षहरूदेखि नै त्रिविका संकाय र अध्ययन संस्थान अन्तरगतका विभाग र आँगिक क्याम्पसहरूमा हुने प्रयोगात्मक विषयका कक्षा सञ्चालन र परीक्षा सञ्चालनका विषयमा समस्या आएको भन्दै गुनासो आएपछि खर्चसम्बन्धी कार्यविधिमा एकरूपता कायम गर्न माग गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नुहुँदै मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख सन्जेश श्रेष्ठले सबै विभागहरूले पहल गरेर प्रयोगात्मक विषयहरू पठनपाठन हुने विभाग र क्याम्पसहरूमा नीतिगत स्पष्टताका लागि कार्यविधि निर्माण गर्न प्रयत्न गरिरहेको बताउनु भयो ।
आ.व. २०८३–०८४ देखि मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तरगत मनोविज्ञान विषय लगायत अन्य प्रयोगात्मक विषयहरू अध्ययन अध्यापन हुने क्याम्पस तथा विभागहरूको सहभागितामा छलफल गरिएको हो । प्रयोगात्मक विषयहरूको कक्षा सञ्चालनको क्रेडिट आवर वितरण, परीक्षा सञ्चालनको लागि सुपरीवेक्षक, आन्तरिक एवम् बाह्य परीक्षकको पारिश्रमिक र अध्ययन अवलोकन भ्रमण समेत फिल्ड कार्यको शिक्षक, कर्मचारीको फिल्डमा गर्न सकिने खर्चसम्बन्धी त्रिविको स्पष्ट मापदण्ड नहुँदा खर्च गर्ने कार्यविधिको आवश्यकता महशुष गरी डीन कार्यालय, विद्या परिषद् र कार्यकारी परिषद्मार्फत स्पष्ट कार्यविधि निर्माण गरी जारी गर्न माग गर्नुपर्नेमा सहभागीहरूले जोड दिनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै ग्रामिण विकास केन्द्रीय विभागका प्रमुख प्राडा सुमन खरेलले सबै विभागहरू मिलेर प्रयोगात्मक विषयको अध्ययन अध्यापनमा पर्याप्त पारिश्रमिक प्रदान गर्न नसकिएको हुँदा स्पष्ट कार्यविधि बनाउन डीन कार्यालयसँग आग्रह गर्नुपर्ने बताउनु भयो । गृहविज्ञान केन्द्रीय विभागकी प्रमुख उपप्रा. सन्तोष गिरीले विभागमा प्राविधिक कर्मचारीको अभाव रहेको र प्रयोगात्मक कार्यमा खर्च गर्ने कार्यविधिको अभावले समस्या भइरहेको बताउनु भयो ।

पद्मकन्या क्याम्पसका उपप्राध्यापकहरू उपासना अधिकारी र प्रविणराज पाण्डेले क्याम्पसमा प्रयोगात्मक विषयको अध्यापनमा न्यायोचित पारिश्रमिक नपाएको अवस्थामा स्पष्ट कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो । त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख यमबहादुर कार्की, उपप्रा. प्रल्हाद अधिकारी र लेखा अधिकृत राजेन्द्र लम्सालले क्याम्पसमा विषयपिच्छे फरक फरक प्रकृतिका प्रयोगात्मक विषयहरू रहेकोमा खर्च गर्ने कार्यविधि एकरूपता नहुँदा समस्या परिरहेको बताउनु भयो । यसैगरी रत्नराज्य क्याम्पसका सहप्रा. सिर्जना श्रेष्ठ, उपप्रा. आशिष काफ्ले र लेखा अधिकृत महेश्वरा उप्रेतीले स्नातक तहमा समेत पाठ्यक्रममा उल्लेख भए बमोजिम प्रयोगात्मक विषय अध्यापन र खर्च गर्ने विषयमा समस्या रहेको बताउनु भयो । ललितकला केन्द्रीय विभागका विभागीय प्रमुख डा . अन्जुचाँदे उप्रेति, उपप्रा. गोकुल लिम्बु, र लेखा अधिकृत शकुन्तला महर्जनले आफ्नो विभागमा पूर्ण प्रयोगात्मक विषयहरू रहेको भएता पनि खर्च गर्ने कार्यविधि पुरानो हुँदा न्यायोचित नरहेको बताउनु भयो ।
रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख पद्मकुमार अधिकारीले क्याम्पसमा फरक फरक दररेटका परीक्षासम्बन्धी कार्यविधिहरू हुँदा आर्थिक कारोवारमा समस्या आइरहेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा मनोविज्ञान केन्द्रीय विभागका सूचना अधिकारी नोदनाथ त्रितालले छलफल कार्यक्रमको सार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसहरूबाट क्याम्पस प्रमुख र लेखा प्रमुख तथा विभागहरूबाट विभागीय प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुख समेतको सहभागिता रहेको थियो । छलफलको अन्त्यमा सबै विभाग र क्याम्पसहरूबाट आ–आफ्नो विषयको आवश्यकता अनुसार कार्यविधिमा समावेश गर्नुपर्ने विषयहरू उल्लेख गरी डीनको कार्यालयमा लेखी पठाउने सहमति भएको छ ।
