Kritipur
मनोविज्ञान केन्द्रीय विभागले शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सहभागितामा यहि मिति २०८३ आश्विन १९ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको खेलकुद सप्ताह कार्यक्रम आज एक समारोहका बीच उद्घाटन भएको छ ।
खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका संयोजक प्रा. पशुपति अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि अधिकारी र विभागीय प्रमुख सन्जेश श्रेष्ठले चेस खेलेर खेलकुद सप्ताहको शुभारम्भ गर्नुभयो । बिरूवामा पानी हालेर उद्घाटन गरिएको उद्घाटन सत्र कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरूले आफ्नो दैनिकीसँग खेलकुद र शारिरीक क्रियाकलापलाई जोडेर तन्दुरूस्त हुनुपर्ने बताउनु भयो । स्वास्थ्य सबभन्दा ठुलो कुरा भएकोले स्वास्थ्यसँग जोडिएको शारिरीक क्रियाकलाप झनै महत्वपूर्ण हुने हुँदा शारिरीक क्रियाकलाप गर्न मनोवैज्ञानिक स्कूलिङ् जरूरी रहेको उहाँले बताउनु भयो । प्लस टुदेखि ब्याचलर हुँदै स्नातकोत्तर तहसम्म मनोविज्ञान विषय स्थापित भइसकेको धारणा उहाँले राख्नु भयो । यसैगरी उहाँले अहिले खेल मनोेविज्ञान नपढी खेलकुदमा भाग लिन खेलाडी मनोवैज्ञानिक रूपमा तयार नहुने हुँदा खेलसँग मनोविज्ञानको सम्बन्ध जोडिएको बताउनु हुँदै विश्वप्रसिद्ध बन्न पनि खेलकुदमा दख्खल हुन जरूरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले अन्तरविभाग खेलकुद प्रतियोगिताहरू सञ्चालन गरेर आपसी सद्भाव र सहकार्य गर्न विभागलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति सनम वलीले केन्द्रीय क्याम्पसमा रहेका सबै विभागहरूमध्ये मनोविज्ञान केन्द्रीय विभाग सक्रिय रहेकोमा खुशी व्यक्त गर्नुभयो । खेल सप्ताहमा सहभागी भएर खेलसँग सबैले रमाउनु पर्ने बताउनु भयो । आगामी दिनमा रचनात्मक खेलकुद कार्यक्रमको निरन्तरताको लागि शुभकामना दिनुहुँदै उपसभापति वलीले स्ववियू सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले हरेक विद्यालय र समाजमा मनोवैज्ञानिक परामर्श पु¥याउनु आजको आवश्यकता रहेको बताउनु हुँदै प्रिन्सिपल कार्यालयमार्फत सह–शिक्षा क्रियाकलापमा कोष खडा गरी स्ववियूको तर्फबाट विभागीय विद्यार्थीहरूलाई सम्मेलन सेमिनार जस्ता कार्यक्रम गर्न सहयोग गर्न सकिने हुँदा प्रस्ताव पठाउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै विभागीय प्रमुख सन्जेश श्रेष्ठले खेलकुद प्रतियोगिताले विद्यार्थीको शारिरीक स्वस्थ्यतामा फाइदा हुने बताउनुहुँदै खेलकुदले सञ्चार सीप, अनुशासन, समूहमा कार्य गर्न र आपसमा एकजुट हुन सिकाउने बताउनु भयो । उहाँले आगामी दिनमा अन्य विभागहरूसँगको सहकार्यलाई जोड्दै खेलकुद प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूको संस्था क्यापका अध्यक्ष कुशल खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव गौतम धितालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमका संयोजक डा. सन्देश ढकाल, पूर्व विभागीय प्रमुख डा. खेमराज भट्ट, प्रशासन प्रमुख नोदनाथ त्रिताल लगायतको सहभागीता रहेको थियो । खेल सप्ताह अन्तरगत भलिवल (महिला÷पुरूष), स्क्याभेन्जर हन्ट (महिला÷पुरूष), ब्याटमिन्टन (महिला÷पुरूष), फुटसल (महिला÷पुरूष), दौड (महिला÷पुरूष) र चेस (महिला÷पुरूष) लगायत प्रतियोगितात्मक खेलहरू आयोजना हुने क्याप्सका अध्यक्ष कुशल खनालले बताउनु भयो ।

