Central Department of Psychology

Kritipur

मनोविज्ञान विषयका विद्यार्थीहरूको केन्द्रीय एशोसिएशन (क्याप्स) को पुनःर्गठन 

मनोविज्ञान विषयका विद्यार्थीहरूको केन्द्रीय एशोसिएशन (क्याप्स) को पुनःर्गठन 

2026-07-16

मनोविज्ञान केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले मनोविज्ञान विषयका विद्यार्थीहरूको केन्द्रीय एशोसिएशन (क्याप्स) को पुनःर्गठन गरेका छन् । मनोविज्ञान केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको भेलाले विभागीय प्रमुखको उपस्थितिमा निर्वाचनमार्फत तेस्रो सेमेस्टरमा अध्ययनरत कुशल खनालको संयोजकत्वमा सत्र सदस्य रहेको एशोसिएशनको कार्य समिति गठन गरेको एशोसिएशन सदस्य गौतम धितालले बताए । समितिको सदस्यहरूमा जुलियाना शाह, विनोद भट्ट, गौतम धिताल, सुदिप शाक्य, कृष्णकुमार पन्त, रेनु पौडेल, निभा केपी, इक्छा खड्गी, प्रवेश गौतम, प्रस्तुत आचार्य, लक्ष्मीमाया थापा, प्रशंशा सिग्देल, विभूशा काफ्ले, इम्मा धङ्गु महर्जन, विशाखा आचार्य र समिता ढकाल रहेका छन् । 
विगत दुई दशकदेखि स्थापना भई मानसिक स्वास्थ्यको क्षेत्रमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको संयोजन गर्दै आएको सो एशोसिएशनले केन्द्रीय विभागमा नौ बुँदे प्रतिबद्धताको सम्झौता गरेको छ । विभागीय प्रमुख उपप्रा. सन्जेश श्रेष्ठ र एशोसिएशनका संयोजक कुशल खनालले एक कार्यक्रमका बीच बिहिवार उक्त प्रतिबद्धता करार पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिबद्धता करार पत्रमा हस्ताक्षर कार्यक्रममा विभागका प्रशासन प्रमुख नोदनाथ त्रिताल, एशोसिएशनका सदस्य जुलियाना शाह लगायतको उपस्थिति रहेको थियो । 
प्रतिबद्धताको करार पत्रमा व्यवसायिक विकासका लागि शैक्षिक क्रियाकलाप र शैक्षिक अतिरिक्त क्रियाकलापहरूमा मात्र एशोसिएशन संलग्न रहने, विभागमा भएका साधनस्रोतको उपयुक्त तरिकाले प्रयोग गर्ने, राजनीतिक गतिविधिमा संलग्नता नहुने, विभागको शैक्षिक र प्रशासनीक कार्यलाई चुस्त दुरूस्त सञ्चालन गर्न सहयोग गर्ने, कुनै कार्यक्रम आयोजना गर्नु परेमा तीन दिन अगावै विभागमा अग्रिम जानकारी गराउने, स्वयम्सेवी रूपमा विद्यार्थीहरूबाटै आर्थिक स्रोत जुटाएर कार्यक्रम गर्ने, निश्चित समयको कार्यकाल पूरा भएपछि पछिल्लो पुस्तामा नेतृत्व पारदर्शी तरिकाले हस्तान्तरण गर्ने, स्नातकोतर तहमा मनोविज्ञान विषय अध्यापन हुने कलेजहरूमा यसको सञ्जाल विस्तार गर्ने, त्रिवि केन्द्रीय विभागको एशोसिएशनलाई छाता संस्था मानेर प्रत्येक कलेजको एशोसिएशन युनिटबाट दुई जनाको दरले प्रतिनिधित्व गराएर सञ्जाल विस्तार गर्ने, र अग्रज पूर्व विद्यार्थीरूलाई सल्लाहकार समूह बनाएर सल्लाह सूझावको लागि एमफिल, पिएचडी स्कोलर तथा मनोविज्ञानविद्हरू, प्राध्यापकहरू, शिक्षाविद्हरूलाई समेट्ने लगायत बुँदाहरूमा प्रतिबद्धता व्यक्त भएको हो । 
एशोसिएशनले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संघसंस्था र सरकारी निकायहरूसँग समन्वय गरी समाजमा योगदान पुग्ने अतिरिक्त क्रियाकलाप, विद्यार्थीहरूको अध्ययन कार्यमा सहयोगी क्रियाकलापहरूको संयोजन गरी दक्ष जनशक्ति उत्पादन गर्ने विभागको लक्ष्यमा योगदान गर्न सक्ने हुँदा एशोसिएशनको पुनःर्जागरण महत्वपूर्ण रहेको फ्याकल्टी सदस्य पदमराज जोशीले बताउनु भयो । आफुहरूले अध्ययन गर्दादेखि क्याप्सको स्थापना र सञ्चालन गरेको स्मरण गर्दै उपप्रा. नारायणप्रसाद शर्माले यसको निरन्तरताको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।