Kritipur
मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम, त्रि. वि. कीर्तिपुरले नेपाल रेडक्रस सोसाइटीसँग संस्थागत तवरले सहकार्य गर्ने निर्णय गरेका छन् । विहिवार विभागमा सम्पन्न बैठकमा सो निर्णय भएको हो । यसैगरी मनोविज्ञान केन्द्रीय विभाग, परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीबीच त्रिपक्षीय रूपमा नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्न सहकार्य गर्ने उद्देश्यले समझदारी पत्र तयार पार्ने निर्णय भएको हो । समझदारी पत्रको मस्यौदा तयार भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने उद्देश्यले त्रिपक्षीय हस्ताक्षरको लागि औपचारिक कार्यक्रमको आयोजना गर्ने समेत निर्णय गरिएको छ । यो सहकार्यले विभागमा अध्ययनरत विद्यार्थीहरूको विज्ञतालाई नेपाल रेडक्रस सोसाइटीले इन्टर्नको रूपमा प्रयोग गर्ने बाटो खुल्ने विभागले जनाएको छ ।
बैठकमा मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख उपप्रा. सन्जेश श्रेष्ठ, परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमका संयोजक उपप्रा. सन्देश ढकाल, पूर्व विभागीय प्रमुख उपप्रा. खेमराज भट्ट, शाखा अधिकृत नोदनाथ त्रितालको सहभागिता थियो भने नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेढाई, कार्यक्रम संयोजक दिपक पोखरेल र तालिम संयोजक टिकाराज पौड्यालको उपस्थिति रहेको थियो ।