Central Department of Psychology

Kritipur

Highlights

पाठ्यक्रम विकास केन्द्रमा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु पाठ्यक्रममा समावेश गर्न ज्ञापन पत्र बुझाइयो 

पाठ्यक्रम विकास केन्द्रमा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु पाठ्यक्रममा समावेश गर्न ज्ञापन पत्र बुझाइयो 

2026-06-23


पाठ्यक्रम विकास केन्द्र, सानोठिमीका महानिर्देशक युवराज पौडेलज्यूलाई मानसिक स्वास्थ्य, शिष्टाचार र नैतिक शिक्षासम्बन्धी विषयवस्तु विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न आग्रहसहित ध्यानाकर्षण पत्र आज २०८३ आषाढ ९ गते मंगलवारका दिन उहाँकै कार्यकक्षमा बुझाइएको छ । त्रिवि मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख सन्जेश श्रेष्ठ र शाखा अधिकृत नोदनाथ त्रितालले सो ध्यानाकर्षण पत्र महानिर्देशक पौडेललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत निर्देशकहरू विजयराज बढू र कमलप्रसाद मिश्र तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेको उपस्थिति रहेको थियो । 

ध्यानाकर्षण पत्र बुझ्नुहुँदै महानिर्देशक पौडेलले अत्यन्तै सान्दर्भिक विषय उठान गर्नुभएकोले उपयुक्त विषयमा ती विषयवस्तुहरू समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । केहि विषयवस्तु समावेश भइसकेको र कुनै कुराहरू अपुग भएको देखिएमा परिमार्जनको क्रममा थप गरिने बताउनु भयो । त्रिवि मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख श्रेष्ठले मानसिक स्वास्थ्यको विषय विद्यालयस्तरदेखि नै अति आवश्यक भएकोले विभागले पाठ्यक्रममा समावेश गर्न आग्रहसहित ध्यानाकर्षण गराएको बताउनु भयो । केन्द्रका निर्देशकहरूले कक्षा ९ मा मानसिक स्वास्थ्यको पाठ नै समावेश भइसकेको र मनोसामाजिक परामर्शसम्बन्धी विषय समेत पाठ्यक्रमले समेटेर परिमार्जित रूपमा ल्याइएको बताउनु भयो । हाम्रो सेरोफेरो विषयबाट नै नैतिक शिक्षाको प्रारम्भिक ज्ञान समावेश गरिएको हुँदा नैतिक शिक्षा र शिष्टाचारको विषयवस्तु अलग्गै पाठ्यक्रम बनाउने भन्दा पनि हरेक अनिवार्य विषयको अडिट गर्दा नैतिक दृष्टिकोणबाट मुल्याँकन गर्न सकिने र प्रत्येक भाषागत विषयको प्रयोगात्मक कक्षाहरूमा शिष्टाचार र मानसिक स्वास्थ्यका विषवस्तुलाई अभ्यासमा समावेश गर्न सकिने धारणा व्यक्त गर्नुभयो । महानिर्देशक पौडेलले पाठ्यक्रमहरू थप अध्ययन गरी सूझाव भएमा उपलब्ध गराउन र आफुहरूले त्यसलाई सकारात्मक रूपमा सम्बोधन गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।