Kritipur
विश्व वातावरण दिवसको अवसरमा मनोविज्ञान केन्द्रीय विभाग परिसरमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्रले हरेक विभागहरूले आफ्नो वरपरको वातावरण संरक्षण र सरसफाइमा आफैं अग्रसर हुनुपर्ने बताउनु भयो । विभाग परिसरमा सरसफाई र गार्डेन बनाउने संस्थागत सहकार्यमा प्रिन्सिपल कार्यालयको साथ र सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै इतिहास केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. रमेश कुमार श्रेष्ठले विभाग वरपर सरसफाई गर्न कसैको मुख ताक्न नहुने धारणा व्यक्त गर्नुहुँदै विश्वविद्यालयलाई वातावरणमैत्री बनाउनु पर्ने बताउनु भयो । मनोविज्ञान विभागका विभागीय प्रमुख उपप्रा. सन्जेश श्रेष्ठले विभागले संघसंस्थाहरूसँगको सहकार्यमा र विद्यार्थीहरूको सक्रियतामा विभाग वरपर सरसफाई र वातावरण संरक्षणको लागि सहकार्य गर्न लागेको बताउनु भयो । द फाउण्डेशन फर जिओकल्चरल हेरिटेज संस्थाका अध्यक्ष आश्विन लामाले विभागसँगको सहकार्यमा संस्थाले गार्डेन निर्माणमा सहयोग गर्न लागेको बताउनु भयो । स्नातकोत्तर तहमा अध्ययनरत छात्रा एवम् संस्थाका सचिव डा. शुभेच्छा श्रेष्ठले मनोविज्ञान विभागमा अध्यापन हुने सैद्धान्तिक विषयको व्यवहारिक पक्षलाई अनुभव गर्न सैद्धान्तिक ज्ञानलाई विभागभित्रै व्यवहारमा उतार्न आफुले संस्थामार्फत वातावरण संरक्षणको गार्डेन निर्माण कार्यका लागि प्रयत्न गरिरहेको बताउनु भयो । कार्यक्रममा हेरिटेज संस्थाका अनुसन्धानकर्ता डा. प्रकट कार्की, इतिहास केन्द्रीय विभागका प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल टेलिभिजनका शिवप्रसाद उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
