Kritipur
मनोविज्ञान केन्द्रीय विभागमा तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले प्रथम सेमेस्टरमा अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा चौथो सेमेस्टरको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवम् संघीय संसदमा प्रतिनिधि सभाकी माननीय सदस्य क्रान्तिशिखा धितालले आफु नीति निर्माण हुने संसदमा जनताको प्रतिनिधित्व गर्दै गर्दा समाज र सरकारबीच मानसिक स्वास्थ्यका विषयमा पूलको रुपमा कार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नव आगन्तुक साथीहरुको स्वागतको उल्लास र अन्तिम सेमेस्टरका साथीहरुको बिदाईको क्षणले मिश्रित रुपले गहिरो भावनामा परेको उल्लेख गर्नुहुँदै मनोविज्ञान विषय अध्ययन गरेका विद्यार्थीहरुले समाज र देशलाई मानसिक रुपमा स्वस्थ बनाउन स्वयम्सेवी भएर आउनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीको कारण युवाहरु विदेशमा मानसिक रुपले भयावह अवस्थामा रहेको र स्वदेशमा उनीहरुका परिवार गहिरो मानसिक तनावमा रहने यथार्थ अवस्थालाई चिर्न हामीले समाजमा योगदान गर्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो । उहाँले मानसिक स्वास्थ्य बीमाको व्यवस्था गर्न आफुले एजेण्डा उठाएर पहल गर्ने प्रतिबद्धता व्यत्तः गर्नुहुँदै मनोविज्ञानविद् गुरुहरुको प्रेरणा र असल कार्यको हामी सबैले अनुुशरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी विशेष अतिथि विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्रले स्नातकोत्तर तहको अध्ययन सकेका विद्यार्थीहरुलाई विश्वविद्यालयले सैद्धान्तिक विषय सिकाएर व्यवहारिक ज्ञान र प्रयोगात्मक क्षेत्रमा सेवा गर्ने अवसरका लागि समाजमा पठाउन बिदाई गर्न लागेको बताउनुभयो । त्रिविको शैक्षिक कुशलताको द्योतक नै विद्यार्थीहरुको कार्य कुशलता रहने हुँदा समाजमा गएर असल सेवा गर्न सुझाव दिनुभयो । मनोविज्ञान नै व्यक्तिको पहिचान दिन सक्ने प्रमुख कुरा रहेको उल्लेख गर्नुहुँदै प्रिन्सिपल मिश्रले कुशल मनोविज्ञानले प्रश्रय पाएमा समाजमा अमृत बन्ने तर दुशित मनोविज्ञानले प्रवेश पाएमा समाज जीर्ण हुन सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सामाजिक सम्पन्नको सिद्धान्त अब देशमा चाहिएको बताउनुहुँदै मनोविज्ञान विषय रोजगारी खोजीको लागि पनि आकर्षक रहेको उल्लेख गर्नुभयो । साथै मानसिक स्वास्थ्यको विषय आर्थिक स्थितिसँग जोडिएकोले सरकारले नागरिकको आर्थिक सम्पन्नताको विषय सोच्नुपर्ने र दीगो विकासको लक्ष्यमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विभागीय प्रमुख उपप्राध्यापक सन्जेश श्रेष्ठले विद्यार्थीहरुले विभागको उन्नती र विकासमा धेरै योगदान गर्दै आएको र यस्ता कार्यक्रम व्यवस्थापनमा प्रयोगात्मक सीप विकास भई विद्यार्थीहरुमा नेतृत्व विकास हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख श्रेष्ठ पूर्व प्रमुख शर्माले विभागमा निरन्तर निःस्वार्थ भावनाले सेवा र सहयोग गरेको भन्दा पूर्व विद्यार्थी श्यामकुमार भट्टराईलाई संयुक्त रुपमा दोसल्ला ओडाएर प्रशंसा पत्रसहित सम्मान गर्नुभएको थियो ।

यसैगरी स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै पूर्व विभागीय प्रमुख प्रा.डा. नन्दिता शर्माले मनोविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य राम्रो रहेको बताउनुहुँदै आजको अवस्थासम्म विभागलाई डो¥याउन चार जना प्राध्यापकहरुले विद्यार्थीकालदेखि नै महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । विद्यार्थीहरुको आकर्षण र मायाका कारण यो विभाग आजको अवस्थामा रहेको हुँदा बिदाई भनेको अब विभागसँगको सम्बन्ध अन्त्य भयो भन्ने बुझाई नराख्न आग्रह गर्नुहुँदै अझ राम्रो प्रगति गरेर फेरि विभागमा निरन्तर साथ, सहयोग र सहकार्यका लागि फर्कन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । स्नातकोत्तर तहको अध्ययन पूरा गरेर जाने भनेको समाजमा गएर अझ राम्रो काम गर्ने क्षमता विकास गरेर पुनः विभागमा फर्कन सकिने शुरुवात रहेको उहाँले बताउनुभयो । विभागको अस्तित्वको लागि अझै संघर्षशील रहेको तर आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै उहाँले विद्यार्थीहरुको साथ सहयोगको विभागमा निरन्तर खाँचो रहने उल्लेख गर्नुभयो ।

सम्मानीत विद्यार्थी श्यामकुमार भट्टराईले विभागको तर्फबाट सम्मानीत हुन पाउँदा गर्व महशुष भएको र आगामी दिनमा समेत मनोविज्ञान विषयलाई अगाडि बढाउन आफ्नो ज्ञान, सीप र विवेकले भ्याएसम्म विभागलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सधैं समाजमा सकारात्मकता खोजेर अगाडि बढ्न अग्रजहरुबाट प्रेरणा पाएकोले सबै साथीहरुलाई पनि सकारात्मक भएर समाजमा योगदान गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्दै गौतम धितालले मनोविज्ञान विषय भनेको सीप सिक्ने र सिकाउने विषय भएकोले प्रमाणपत्र मात्र भएर सीप र क्षमताको अभावमा केहि हुन नसक्ने धारणा राख्नुभयो । उहाँले सबै सहभागीलाई स्वागत गर्दै जल्दोबल्दो विषयको रुपमा रहेको मनोविज्ञान र मनोविज्ञान परामर्श विषयलाई अझ आकर्षक र गुणस्तरीय बनाउन थुप्रै नीतिगत समस्याहरु रहेका र सोको निराकरणका लागि विभाग र विद्यार्थीहरुको तर्फबाट सहकार्यमा पहल गरिरहेको बताउनुभयो । विगतमा अरु विषयहरुको आकर्षण एकाएक घटेको यथार्थतालाई मनन् गरेर मनोविज्ञान विषयको आकर्षण विद्यार्थीमाझ निरन्तरताका लागि विद्यार्थीहरुले नै मेहनत गरेर सीप सिक्नुपर्ने र समाजमा उदाहरणीय कार्य गर्नुपर्ने अहिलेको आवश्यकता रहेको गौतमले बताउनुभयो ।

कार्यक्रममा, प्रमिला श्रेष्ठ, चाँदनी विश्वमित्र, गौतम धिताल लगायतले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, नव आगन्तुक विद्यार्थी, बिदाई हुने विद्यार्थीहरु समेतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चौथो सेमेस्टरका खगेन्द्र रावतले विभागमा अध्ययन गर्दाको अनुभव साथीहरुमाझ साट्नुभएको थियो । कार्यक्रमको अवधिमा अमूल शाक्य, अम्बिका र सम्पदाले गीत, षोष्टिका अधिकारीले प्रस्तुती, शुभेच्छा श्रेष्ठ, पदमराज जोशी र रेनु पौडेलले नृत्य प्रस्तुत गर्नुभएको थियो भने थप मनोरञ्जनात्मक गीत संगीत, नाँच प्रस्तुती र कविता लगायत रचना वाचन समेत भएका थिए । कार्यक्रमको सञ्चालन सन्दिप क्षेत्री र प्रमिला श्रेष्ठ, तथा श्रेया तामाङ् र सुवेश जोशी लगायतले संयुक्त रुपमा गर्नुभएको थियो ।
