Central Department of Psychology

Kritipur

Highlights

पूर्व विद्यार्थी श्यामकुमार भट्टराईलाई विभागको सम्मान

पूर्व विद्यार्थी श्यामकुमार भट्टराईलाई विभागको सम्मान

2026-04-23

मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०७९–८० मा अध्ययन पूरा गरेका नियमित विद्यार्थी श्यामकुमार भट्टराईलाई विभागले एक समारोहका बीच आज दोसल्ला ओढाएर सम्मान गरेको छ । स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पहिलो सेमेस्टरमा आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा चौथो सेमेस्टर पूरा गरी परीक्षाको तयारीमा रहेका साथीहरुको बिदाईका लागि आयोजित विशेष कार्यक्रममा विभागीय प्रमुख उपप्रा. सन्जेश श्रेष्ठले भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । पूर्व विभागीय प्रमुख प्रा.डा. नन्दिता शर्माले उहाँलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने सम्मान समारोहमा प्रमुख अतिथि क्रान्तिशिखा धिताल, विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल अक्कलदेव मिश्र, अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. ध्रुव कार्की लगायतको समुपस्थिति रहेको थियो ।

भट्टराईले विभागमा आफु नियमित विद्यार्थी रहँदा समकक्षी साथीहरुमाझ नेतृत्वदायी भुमिका खेल्दै मनोविज्ञान विषय र यस विभागप्रति निःस्वार्थ भावनाले समर्पित भई सहयोग गरेको र अध्ययन पूरा गरेपछि पनि निरन्तर विभागमा सम्पर्कमा रही अहिलेसम्म पनि सहयोग गरिरहेको विभागले जनाएको छ । उनलाई सम्मानका साथ प्रदान गरिएको प्रशंसा पत्रमा भनिएको छः ‘तपाईंले विभागको भौतिक, शैक्षिक एवम् प्रशासनिक व्यवस्थापनमा पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा–पत्र प्रदान गरिएको छ । विभागभित्र समकक्षी साथीहरू समेतको सिकाइ हुने कक्षा कोठाका पर्खालहरू र विभागीय पुस्तकालयको मर्मत कार्यमा निरन्तर सहयोग गरी बलियो बनाउन तपाईले खेल्नुभएको भुमिका सधैं स्मरणीय रहनेछ ।’ साथै विभागले उहाँको उज्ज्वल भविष्य र सुखमय जीवनको कामना गरेको छ ।

कार्यक्रममा सम्मानीत विद्यार्थी भट्टराईले आफ्नो भनाई राख्दै विभागले सम्मान गरेकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो भने मनोविज्ञान विषयले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रष्फुटन गर्न सक्नुपर्ने र समाजमा सिकेको कुरा व्यवहारमा उतार्न जाँदा सधैं सकारात्मक कुराहरुको खोजी गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफु लामो समयदेखि सिभिल इन्जिनियरिङ् पेशामा कार्यरत रहेको र विभागमा अध्ययनपश्चात मनोविज्ञान क्षेत्रमा पनि व्यवसायिक रुपमा क्रियाशिल रहेको बताउनुहुँदै मानसिक स्वास्थ्यको विषयमा अहिले संसददेखि गाउँसम्म आवाज उठाउन सक्नुपर्ने बताउनुभयो ।