Central Department of Psychology

Kritipur

Highlights

मनोविज्ञान विभागमा Psychology of Digital Trust कार्यक्रम सम्पन्न

मनोविज्ञान विभागमा Psychology of Digital Trust कार्यक्रम सम्पन्न

2026-04-16

सेवा नेपालको आयोजनामा मनोविज्ञान केन्द्रीय विभागस‌गकाे सहकार्यमा ‘अविश्वासदेखि विश्वासतर्फको यात्राः डिजिटल विश्वासको मनोविज्ञान र इ–कमर्स ऐन २०८१’ विषयक शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य विषयवस्तु “Psychology of Digital Trust: Navigating E-Commerce Act 2081 and Shifting Consumers Confidence” रहेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य ‘छोडिदिऊँ न त’ भन्ने पुरानो सोचलाई त्यागेर ‘मेरो अधिकार म दाबी गर्छु’ भन्ने नयाँ उपभोक्ता संस्कारको विकास गर्नु रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफूले किनेको सामान फिर्ता गर्न पाउने अधिकार, विक्रेताको आधिकारिकता जाँच्ने तरिका, र उजुरी दर्ताको समयसीमाबारे जानकारी पाएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभागीय प्रमुख संजेश श्रेष्ठले एउटा समूहलाई मात्र नभइ सबैलाई उपयाेगी विषयवस्तु रहेको बताउनु हुँदै विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको उल्लेख गर्नुभयो । उहाँले यस्ता शैक्षिक सचेतनामुलक कार्यक्रमले शैक्षिक तथा व्यवसायिक विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो  भने लामो अनुभव भएका सहजकर्ताहरुबाट छाेटो समयमा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान शेयर गरिदिनुभएकोमा आयोजकप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

त्यसपछि विभिन्न वक्ताहरूले डिजिटल विश्वास, उपभोक्ता अधिकार, र ई–कमर्स ऐन २०८१ को प्रभावबारे आफ्ना विचार र कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। 

कार्यक्रमको पहिलो सत्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग (DOCSCP) का श्री शेरबहादुर बस्नेतले ऐनले प्रदान गरेको उपभोक्ता संरक्षणका प्रावधान र त्यसले डिजिटल विश्वासमा पारेको प्रभावबारे जानकारी गराए। त्यसैगरी, इ–कमर्स प्लेटफर्म ‘फुडमान्डु’ का मनोहर अधिकारीले उपभोक्ताको विश्वास कायम राख्न डिजिटल प्लेटफर्महरूले खेल्ने भूमिकाबारे चर्चा गरे। राष्ट्रिय उपभोक्ता मञ्चका श्री प्रेमलाल महर्जनले संकटका बेला उपभोक्ता अधिकारकर्मीको भूमिका र उपभोक्ताले गुनासो दर्ता गर्ने प्रक्रियाबारे सहभागीहरूलाई अवगत गराए।

कार्यक्रममा सहभागीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ र इ–कमर्स ऐन २०८१ अन्तर्गत आफ्ना अधिकार, डिजिटल साक्षरता, र सुरक्षित भुक्तानीका संकेत चिन्ने तरिकाबारे जानकारी दिइएको थियो। साथै, ठगी वा असन्तुष्टि भएमा वाणिज्य विभागको टोल फ्रि नम्बर ११३७ वा सम्बन्धित प्लेटफर्मको अनलाइन गुनासो प्रणाली प्रयोग गर्ने व्यावहारिक सीप पनि सिकाइएको थियो। कार्यक्रमले अनलाइन किनमेल गर्दा ‘नगद कारोबारको बानी’ लाई विस्तारै सुरक्षित डिजिटल भुक्तानीतर्फ उन्मुख गराउनुको साथै, डिजिटल रसिद, स्क्रिनसट, र अर्डर आईडीलाई कानुनी प्रमाणको रूपमा सुरक्षित राख्न प्रेरित गरेको आयोजकले जनाएको छ।

यसैगरी आयोजक स‌स्था सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई उपभाेक्ता अधिकार माग गर्न सक्नुपर्ने धारणा व्यक्त गर्दै डिजिटल विश्वास र उपभोक्ता अधिकारबारे निरन्तर छलफल आवश्यक रहेको र विद्यार्थीहरुले आफू सचेत हुन सके समाजको लागि न्याय माग्न सकिने धारणा व्यक्त गर्नुभएको थियाे। उहाँले त्रिवि र विभागसँग  निरन्तर सहकार्य गर्न स‌स्था सधै तत्पर रहेकाे पनि बताउनु भयाे । विभागको तर्फबाट कार्यक्रमकाे लागि विषय शिक्षक पदमराज जाेशीले आमन्त्रित सम्पूर्ण अतिथि सहजकर्ता र सस्थाका प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको थियाे । 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रस्तुत विषयवस्तुबाट व्यावहारिक ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। आयोजक सेवा नेपालले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमहरुको निरन्तरता दिने घोषणा गरेको थियाे। कार्यक्रममा विद्यार्थीहरूले सक्रिय रूपमा जिज्ञाषाहरु राखेका थिए भने सहजकर्ताहरुले जवाफ दिनुभएको थियाे । सेवा नेपालकी अध्यक्ष कल्याणी शाहको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन (Host) विद्यार्थीहरुको तर्फबाट गाैतम धितालले गर्नुभएको थियाे । मनाेविज्ञान विभागका विभागीय प्रमुख (HOD) संजेश श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएकाे यस कार्यक्रममा मनोविज्ञान स्नातकोत्तर (MA) तेस्रो सेमेष्टरका विद्यार्थीहरूलाई लक्षित गरी सहजकर्ताहरुले कार्यपत्रहरु प्रस्तुतिकरण गर्नुभएको थियाे ।