Kritipur
त्रिवि मनोविज्ञान केन्द्रीय विभागले विभाग स्थापनाको अवसर पारेर मनोविज्ञान दिवस मनाउने शुरुवात गरेको छ । हरेक वर्ष चैत्र ३० गते मनोविज्ञान दिवस मनाउने विभागको निर्णय बमोजिम आज सो दिवस मनाइएको हो । दिवसको अवसरमा विभागले परिसरमा वृक्षारोपण गरेको छ । वृक्षारोपण कार्यक्रममा विभागीय प्रमुख, विभागमा कार्यरत प्राध्यापकहरु, प्रमुख अतिथि, अतिथिहरु, स्ववियूसभापति र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै प्रमुख अतिथि एवम् प्रिन्सिपल कार्यालयका प्रोक्टर प्रा.डा. गणेश अधिकारीले मनका भावनाहरु, विचारहरु र मस्तिष्कले गर्ने प्रतिक्रिया अध्ययन गर्ने विधा भएकोले मनोविज्ञान विषयको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । मनोविज्ञान विषयको अध्ययनले हामीलाई शान्ति दिन सक्नुपर्ने बताउनुहुँदै उहाँले घर परिवार र विश्वविद्यालयलाई नै शान्त बनाउन यो विषय अध्ययनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । मनोवैज्ञानिक परामर्शले बिरामीहरुको आधा रोग निको हुने उल्लेख गर्नुहुँदै प्रोक्टर अधिकारीले शैक्षिक क्षेत्रको विकृति र विसंगतिलाई दक्ष जनशक्तिले राम्रो परामर्श दिन सके विश्वविद्यालयहरु राम्रो भएर अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँले विभागहरुले स्वतःस्फूर्त रुपमा आयोजना गर्ने रचनात्मक कार्यक्रमहरुमा प्रिन्सिपल कार्यालय सधैं सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै विभागकी पूर्व विभागीय प्रमुख प्रा.डा. नन्दिता शर्माले मनोविज्ञान दिवस मनाउन शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै सबैले यो क्षेत्रमा योगदान गर्न सकियोस् भनेर दिवसको शुरुवात गरिएको बताउनुभयो । उहाँले धेरै पहिलेदेखि दिवस मनाउने सोचाई रहेकोमा यो वर्षदेखि दिवस मनाउने योजनाले सार्थकता पाएको उल्लेख गर्नुहुँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै स्वतन्त्र विद्यार्थी युनियन, विश्वविद्यालय क्याम्पसका सभापति दिपकराज जोशीले आवश्यकता अनुसार विभागको कक्षाकोठा व्यवस्थापन, डिजिटल बोर्डको व्यवस्था गर्न प्रिन्सिपल कार्यालयलाई बारम्बार अनुरोध गरिएको बताउनुहुँदै स्ववियूले हरेक विभागमा विभागीय प्रमुखहरुसँग सम्पर्क गरी विद्यार्थीहरुको हकहितमा प्रयासरत रहेको बताउनुभयो ।

विभागीय प्रमुख उपप्रा. सन्जेश श्रेष्ठले सबै विधाको विद्यार्थीहरु एकै ठाउँमा जम्मा हुने विभाग मनोविज्ञान विषयको विभाग भएकोले सबै मिलेर यो विषयलाई मात्र नभई ेदेशलाई नै राम्रो बनाउन योगदान गर्न सकिने बताउनुभयो । उहाँले समूहमा कार्य गरेर सबैको जित हुने अनुभुति गराउनु मनोविज्ञान विषयको मूल मर्म भएको उल्लेख गर्नुहुँदै सबैको योगदानले विभाग विगत चार दशकदेखि आजको अवस्थामा आइपुगेको पनि स्मरण गर्नुभएको थियो । उहाँले कुनै बेला विभाग अप्ठेरो परिस्थितिबाट अगाडि बढेको भए पनि अहिले सबै गुरु गुरुआमाहरुको अथक प्रयासबाट अप्ठेरोलाई सल्ट्याउँदै यो स्थानमा ल्याउनुभएको हुँदा हामी सबैले हातेमालो गर्दै विभागलाई अगाडि बढाउन एकताको सन्देश सहित आजको मनोविज्ञान दिवस मनाइएको बताउनुभयो । कार्यक्रममा पूर्व विभागीय प्रमुखहरु प्रा.डा. शिशिर सुब्बा, प्रा.डा. नन्दिता शर्मा, डा. खेमराज भट्ट, परामर्श मनोविज्ञान कार्यक्रमका संयोजक डा. सन्देश ढकाल, डा. भारती अधिकारी, शिक्षकहरु पदमराज जोशी, आशिष काफ्ले, उपासना अधिकारी लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस अघि स्नातकोत्तर तह प्रथम वर्षका विद्यार्थीहरुको अगुवाईमा विभाग परिसरमा सरसफाई अभियान गरिएको र गार्डेन निर्माणमा विद्यार्थीहरुले योगदान गर्ने प्रथम सेमेस्टरका विद्यार्थी पवन थापाले बताउनुभयो । कार्यक्रमको सञ्चालन स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थी गौतम धितालले गर्नुभएको थियो ।

