Kritipur
त्रिवि मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत औद्योगिक एवम् संस्थागत मनोविज्ञान विषयका विद्यार्थीहरुका लागि एक दिवसीय वित्तिय साक्षरता अभिमुखीकरण तालिम कार्यक्रम आज सम्पन्न भएको छ । विषय विज्ञ सुस्मिता न्यौपानेले सहजीकरण गर्नुभएको सो तालिम कार्यक्रममा एक दर्जनबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञ प्रशिक्षक न्यौपानेले वित्तिय साक्षरताका विषयमा विद्यार्थीहरुलाई छलफल गराउँदै सहजीकरण गर्नुभएको सहभागी गौतम धितालले जानकारी दिनुभयो । स्नातकोत्तर तहको लागि बजारमुखी शिक्षामा आधारित पाठ्यक्रम भएकोले विद्यार्थीहरुलाई दैनिक जिवनमा आई पर्ने वित्तिय समस्या समाधानका लागि आम्दानीलाई कसरी खर्च गर्ने, आफ्नो आयबाट कहाँ र कसरी लगानी गर्ने, बचत कसरी गर्ने आदि जस्ता विषयमा जीवनोपयोगी सीप सिकाउने र वित्तिय क्षेत्रको विश्वव्यापी अवस्था र नेपालमा भएको अभ्यासबारे जानकारी दिने उद्देश्यले तालिम कार्यक्रम आयोजना गरेको विभागले जनाएको छ ।
