Central Department of Psychology

Kritipur

Highlights

शैक्षिक तनाव व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

शैक्षिक तनाव व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

2026-03-22

मनोविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक अवलोकन भ्रमणका क्रममा काभ्रे जिल्लाको बनेपा–नाला स्थित स्प्रिङ हिल स्कूलमा माध्यमिक तहका विद्यार्थीहरूका लागि शैक्षिक तनाव व्यवस्थापन सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। भविष्यका कर्णधारका रूपमा हेरिने माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी यस कार्यक्रमको उद्देश्य उनीहरूको ज्ञान, धारणा र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई शैक्षिक कारणले हुने तनावलाई विभिन्न व्यवहारिक माध्यमद्वारा व्यवस्थापन गर्न सिकाउनु रहेको थियो।


कार्यक्रमको पहिलो दिन गौतम धितालले कार्यक्रमको सुरुवात गर्दै तनाव भनेको के हो, के–के कारणहरूले तनाव उत्पन्न हुन्छ, सकारात्मक तथा नकारात्मक तनाव के हुन् र त्यसको व्यवस्थापन तथा न्यूनीकरणका उपायहरू के–के हुन् भन्ने विषयमा संक्षिप्त छलफल तथा गतिविधि गराउनुभयो। यस क्रममा विभिन्न प्रकारका श्वास–प्रश्वास अभ्यास, ग्राउण्डिङ विधि आदि अभ्यास गराइयो, जसबाट सहभागीहरूले तनावको अवधारणा, कारण र छोटो समयमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सिक्ने अवसर पाए।
त्यसपछि पलिभाषा जः आचाजुले डूडलिङ विधिहरू सम्बन्धी गतिविधि सञ्चालन गर्नुभयो। डा. बिन्दु पौडेलले सञ्चालन गर्नुभएको व्यायाम तथा शारीरिक गतिविधि सत्रमा प्रयोग गरिएका Visualization, Yoga, Stretching, Cognitive Reframing, Positive Self-talk र Positive Gratitude जस्ता प्रविधिहरू प्रभावकारी तनाव व्यवस्थापनका उपायका रूपमा प्रस्तुत भए। Visualization र योगले मानसिक तथा शारीरिक विश्राममा सहयोग पुर्‍याए भने संज्ञानात्मक प्रविधिहरूले नकारात्मक सोचलाई सकारात्मक दिशातर्फ रूपान्तरण गर्न मद्दत गरे। Gratitude अभ्यासले सकारात्मक भावनाको विकासमा योगदान पुर्‍यायो। साथै, Personal Stress Management सम्बन्धी गतिविधिले सिकेका सीपहरूलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्‍यो।
समग्रमा, यी गतिविधिहरू व्यावहारिक, सहभागीमुखी तथा दैनिक जीवनमा प्रयोगयोग्य देखिए। सहभागीहरूले सरल अभ्यासहरू गर्दै सानो तर नियमित प्रयासबाट तनाव व्यवस्थापन गरी दीर्घकालीन स्वास्थ्य सुधार गर्न सकिने अनुभूति गरे।
दोस्रो दिन निशम महर्जनले प्रारम्भमा शैक्षिक तनाव व्यवस्थापनको संक्षिप्त पुनरावलोकन गर्दै “समस्या समाधान गर्ने सीप” विषयमा कार्यशाला सञ्चालन गर्नुभयो। उक्त कार्यशालामा विद्यार्थीहरूले समस्या–केन्द्रित (Problem-focused) तथा भावना–केन्द्रित (Emotion-focused) समाधानहरू प्रस्तुत गरे। साथै, सहभागीहरूलाई आफ्ना तनावका स्रोतहरू तथा नकारात्मक सोच पहिचान गरी त्यसलाई कसरी सकारात्मक बनाउने भन्ने विषयमा गतिविधि गराइयो।


त्यसैगरी, अम्बिका मोक्तानले समय व्यवस्थापनका विधिहरू सिकाउनुभयो, जसले सहभागीहरूलाई दैनिक जीवनमा समय तालिका निर्माण गरी सन्तुलित रूपमा समयको सदुपयोग गर्ने ज्ञान प्रदान गर्‍यो।
कार्यक्रमलाई अझ आकर्षक बनाउन तनावसँग सम्बन्धित रमाइला खेलहरू, Word Association Game तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरियो। विशेषगरी, ‘Self-care Wheel’ जस्ता गतिविधिहरूमा रिकेश महर्जन र सन्देश अछामीले सहजीकरण गर्नुभयो। यी क्रियाकलापहरूले सहभागीहरूलाई सक्रिय र उत्साहित बनाउँदै तनाव व्यवस्थापनका व्यावहारिक उपायहरू सिक्न सहयोग पुर्‍यायो।
अन्ततः, कार्यशालाबाट प्राप्त सीपहरू दैनिक जीवनका समस्याहरू समाधान गर्न उपयोगी र प्रभावकारी सावित भए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले सिकेका ज्ञान र सीपहरू आफू तथा आफ्ना साथीभाइहरूलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गरे। स्कूलका प्रधानाध्यापक सुन्दर बुढाथोकीले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो। यस प्रकारका सहभागितामूलक तथा व्यवहारमुखी कार्यक्रमहरूले विद्यार्थीहरूलाई अझ सक्षम बनाउँदै शिक्षा र स्वास्थ्यबीचको सम्बन्ध, त्यसको प्रभाव, स्वस्थ बानीको विकास तथा मानसिक स्वास्थ्यप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।