Central Department of Psychology

Kritipur

Highlights

महिला स्वास्थ्य स्वयंसेविकामाझ स्वास्थ्य व्यवहार परिवर्तनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

महिला स्वास्थ्य स्वयंसेविकामाझ स्वास्थ्य व्यवहार परिवर्तनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

2026-03-22

मनोविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक अवलोकन भ्रमणका क्रममा काभ्रे जिल्लाको पनौती स्थित बाल्थली रिसोर्टको सभाहलमा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि स्वास्थ्य व्यवहार परिवर्तनसम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। समुदायस्तरमा स्वास्थ्य सन्देश प्रवाह गर्ने प्रमुख माध्यमका रूपमा रहेका स्वयंसेविकाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य उनीहरूको ज्ञान, धारणा र व्यहारमा सकारात्मक परिवर्तन ल्याउनु रहेको थियो

कार्यक्रमको पहिलो दिन लक्ष्मी थापाले स्वास्थ्य व्यवहार (व्यायाम, पोषण, निद्रा, तनाव व्यवस्थापन) सम्बन्धी आधारभूत अवधारणा प्रस्तुत गर्दै बानीसम्बन्धी सत्य–असत्य गतिविधि सञ्चालन गरिन्, जसबाट सहभागीहरूले बानी निर्माणसम्बन्धी प्रचलित भ्रमहरू पहिचान गर्ने अवसर पाए। त्यसपछि राजुला जोशीले “स्वास्थ्य विश्वास बहस” सञ्चालन गर्दै व्यक्तिको धारणा, जोखिमको बुझाइ, लाभ र अवरोधहरूले व्यवहार परिवर्तनमा कसरी प्रभाव पार्छ भन्ने विषयमा स्पष्ट पारिन्। रेनु पौडेलले सञ्चालन गरेको व्यायाम तथा शारीरिक गतिविधि सत्रमा सहभागीहरूले सरल अभ्यासहरू गर्दै सानो तर नियमित प्रयासले दीर्घकालीन स्वास्थ्य सुधार गर्न सकिने अनुभव गरे।

दोस्रो दिन सुदिमा गुरुङले ‘स्ट्रेस बलुन एक्सरसाइज’ मार्फत सहभागीहरूलाई आफ्ना तनावका स्रोतहरू पहिचान गर्न प्रेरित गर्दै स्वस्थ तनाव व्यवस्थापनका उपायहरूबारे छलफल गराइन्। किरण भट्टले ‘अवरोध अनुभव खेल’ सञ्चालन गर्दै समयको अभाव, कामको चाप तथा ध्यान विचलनजस्ता कारणहरूले स्वास्थ्य व्यवहार परिवर्तनमा आउने कठिनाइलाई व्यवहारिक रूपमा बुझाए। कार्यक्रमको अन्त्यमा अनुशा वैद्यले निर्णय खेल तथा सत्य–असत्य गतिविधि सञ्चालन गर्दै मानसिक स्वास्थ्यसम्बन्धी भ्रमहरू हटाउने, सहयोग लिनु आवश्यक र उपयोगी प्रक्रिया हो भन्ने सन्देश प्रवाह गरिन्।

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले सिकेका ज्ञान र सीपहरू आफ्ना समुदायमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रकारको सहभागितामूलक तथा व्यवहारमुखी कार्यक्रमले स्वयंसेविकाहरूलाई अझ सक्षम बनाउँदै समुदायमा स्वास्थ्य सचेतना, स्वस्थ बानीको विकास तथा मानसिक स्वास्थ्यप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।