Central Department of Psychology

Kritipur

Highlights

तीन दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

तीन दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

2026-03-21

त्रिवि मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तह दोस्रो समेस्टरमा अध्ययनरत विद्यार्थीहरुले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरेको तीन दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । 


काभ्रे जिल्लाको पनौती नगरपालिकाको विभिन्न वडाहरुमा समुदायस्तरमा पुगी स्थानीय समुदायमाझ विद्यार्थीहरुले मनोसामाजिक छलफल तथा परामर्श गरेका थिए । विभिन्न ८ वटा समुहमा विभाजन गरी योजनाबद्ध र समूहगत रुपमा समुदायमा गई आफुले पढेको ज्ञानलाई व्यवहारिक प्रयोग गर्ने, समुदायको वास्तविक अवस्था अध्ययन गर्ने, समुदायसँग छलफल अन्तरक्रिया गर्ने, नाटकहरु प्रदर्शन गर्ने, अनाथाश्रममा सहयोग गर्ने जस्ता क्रियाकलापहरु गरिएको थियो । नगरपालिकाको कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय, वडा कार्यालय, जेसिस क्लब, महिला समूह र स्थानीय समुदायसँग समन्वय, प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरी अवलोकन भ्रमण पूरा गरेको भ्रमण टोली संयोजक गौतम धितालले बताउनु भयो । यसैगरी अवलोकन भ्रमणको क्रममा समूहगत रुपले स्वास्थ्य जीवनको लागि स्वस्थ व्यवहार निर्माण, शैक्षिक तनाव व्यवस्थापन, स्वास्थ्य व्यवहारमा परिवर्तन, सामाजिक समस्या घटाउन सामाजिक सहयोग समूहको आवश्यकता, मनोविज्ञानमा आधारित तनाव व्यवस्थापन, स्वःहेरचाह, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र मनोवैज्ञानिक कल्याणका लागि अभ्यासहरुसम्बन्धी अभिमुखीकरण, छलफल, अन्तरक्रिया र अध्ययन अवलोकन गरिएको भ्रमण टोलीका अर्का संयोजक जुलियाना शाहले बताउनु भयो ।

विद्यार्थीहरुको प्रयोगात्मक कार्य अन्तरगत अध्ययन भ्रमण भएकोले विभागका प्राध्यापकहरु डा. खेमराज भट्ट, डा. सन्देश ढकाल, पदमराज जोशी र आरती झाले स्थलगत अनुगमन गर्नुभएको थियो । हरेक दिन भ्रमणको अन्त्यमा विद्यार्थीहरुको टोलीले प्राध्यापकहरुलाई दिनभरको सिकाई रिपोर्टिङ् गरेका थिए । भ्रमणको अन्त्यमा पनौति नगरपालिकामा रहेको मानव कल्याण समाज अन्तरगत बालसेवा घरमा स्टेशनरी सहयोग गरी अवलोकन टोली फर्किएको विद्यार्थीहरुले जानकारी दिएका छन् ।