Kritipur
मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक अवलोकन भ्रमणको क्रममा काभ्रे जिल्लाको पनौती नगरपालिका, कुशादेवीमा रहेको स्थानीय महिला समूहमाझ शिष्टाचार घरमा यहि चैत्र ६ गते शुक्रवार सचेतनामुलक नाटक प्रदर्शन गरेका छन् । ‘मनको गाँठो’ शीर्षकमा प्रस्तुत नाटकले समाजमा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउन मद्दत गरेको मनोविज्ञानकी विद्यार्थी इच्छा खड्गीले बताइन् ।

नाटकमा छोरीको भुमिकामा सबैकी ‘माया’ उपनाममा अतिथि चौलागाईले नाटक खेल्नुभएको थियो । यस्तै इच्छा खड्गीले मायाँको बुबाको भुमिका, अञ्जली कुमारी रौनियारले मायाकी आमाको भूमिका खेल्नु भएको थियो भने गाउँमा कुरा काट्दै हिँड्ने कान्छी बज्यैको भुमिका आस्मा पाठकले निभाउनु भएको थियो । स्थानीय शिक्षित युवाको भुमिकामा सम्पदा विष्ट देखिनु भएको थियो । नाटकको निर्देशन एवम् सञ्चालन अञ्जना पण्डितले गर्नुभएको थियो । यो नाटकको मुल उद्देश्य मानसिक समस्यामा परेका व्यक्तिहरुलाई घर परिवार र समाजले माया, ममता र प्रेमपूर्वक सहयोग गर्नुपर्छ, घृष्णाको दृष्टिकोणले हेर्नुहुँदैन भन्ने सन्देश दिनु रहेको नाटक निर्देशन गर्नुहुने अञ्जना पण्डितले बताउनु भयो ।

शिष्टाचार अभियान नेपाल नामक संस्थाको सामुदायिक भवनमा प्रस्तुत सो नाटकको अन्त्यमा शिष्टाचारका नौ शुत्रहरु वाचन गर्दै व्यवहारमा शिष्टाचारलाई सबैले अपनत्व लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । दुई दिनसम्म चलेको अवलोकन भ्रमणको क्रममा विद्यार्थीहरुले महिलाहरुलाई सामाजिक सहयोग समूहको महत्व, भुमिका र कर्तव्यबारे सुसुचित गराउनुका साथै महिलाहरुका लागि विभिन्न निकायहरुले गर्न सक्ने सहयोग र सम्पर्क नम्बरहरु समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा करिब दुई दर्जन स्थानीय महिलाहरुको सहभागिता रहेको थियो भने सामाजिक सहयोग समूहका लागि गरिएको सो कार्यक्रमको अन्त्यमा साङ्गितीक मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।